काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले समस्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्षका लागि लचिलो कार्यदिशालाई नै निरन्तरता दिँदै मौद्रिक नीति बनाइएको जानकारी दिए ।
खासगरी मध्यपूर्वमा चर्किएको द्वन्द्व क्रमशः सामान्यतर्फ जाँदै गर्दा पेट्रोलियम पदार्थको महँगी नियन्त्रणमा आएको भन्दै गभर्नर पौडेले आगामी आर्थिक वर्षका लागि उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति ५.५ प्रतिशत सीमित रहने प्रक्षेपण गरिएको बताएका छन् ।
यता सरकारले वित्त नीतिमार्फत आगामी आर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद्धिसँगै ६ प्रतिशतको सीमामा मुद्रास्फीति कायम गर्ने बताएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेले आगामी वर्ष आर्थिक सुधार हुने भन्दै बढ्दो रेमिट्यान्स, पर्यटन र उत्पादन सुधारले गति लिने बताए ।




