चिनियाँ कम्युनिष्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा अन्तरक्रिया

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) स्थापना भएको १०५औँ वर्षका अवसरमा ‘चिनियाँ कम्युनिष्ट पार्टीको १०५ वर्षको ऐतिहासिक अनुभव र नेपालका लागि त्यसका सन्देश’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नीति अनुसन्धान संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा युवा प्रतिनिधिसहित २०० भन्दा बढीको सहभागिता रहेको दूतावासले जनाएको छ।

कार्यक्रममा राजदूत झाङले चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले पार्टी स्थापना दिवसका अवसरमा व्यक्त गरेको सम्बोधन तथा पार्टी निर्माणसम्बन्धी विचार प्रस्तुत गर्दै चिनियाँ कम्युनिष्ट पार्टी नेपालका राजनीतिक दलहरूसँग पार्टी तथा राज्य सञ्चालनका अनुभव आदान–प्रदान गर्न र पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए ।

उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउँदै साझा समृद्धिका लागि सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सहभागी नेपालका विभिन्न क्षेत्रका प्रतिनिधिहरूले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०५औँ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै चीनले आर्थिक तथा सामाजिक विकासमा हासिल गरेको उपलब्धिको प्रशंसा गरेका थिए।

उनीहरूले विश्व शान्ति, विकास तथा मानव सभ्यताको प्रगतिमा चिनियाँ कम्युनिष्ट पार्टीले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै चीनको शासन तथा प्रशासन सञ्चालनसम्बन्धी अनुभवबाट सिक्न चाहेको तथा त्यसबाट नेपाल–चीन दुवै देशका जनतालाई लाभ पुग्ने विश्वास व्यक्त गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *