माउन्ट (रसमोर) । संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी गर्दै कडा राजनीतिक सन्देश दिएका छन् । उनले देशभित्रैबाट ‘कट्टरपन्थी र अतिवादीहरू’ बाट चुनौती बढेको आरोप लगाए ।
देशभक्तिले ओतप्रोत भाषणका क्रममा राष्ट्रपति ट्रम्पले ‘अमेरिकी विशिष्टता’को प्रशंसा गर्दै माउन्ट रसमोरमा उभिएर राष्ट्रका चार महान् पूर्ववर्ती नेताहरूलाई श्रद्धा व्यक्त गरे । सोही ऐतिहासिक स्मारकको फेदमा उनले भने, “हामी यस भव्य वार्षिकोत्सवको नजिक पुग्दै गर्दा हाम्रो अमेरिकी पहिचानमाथि नयाँ आक्रमण भइरहेको देखिरहेका छौँ ।”
उनले ‘देशभित्र कम्युनिष्ट खतरा पुनःबढिरहेको’ आरोप लगाए । डेमोक्रेटिक पार्टीभित्रको वामपन्थी धारलाई लक्षित गर्दै ट्रम्पले पछिल्ला हप्ताहरूमा यस्ता टिप्पणी दोहो¥याउँदै आएका छन् ।
“हालैका वर्षहरूमा हाम्रो विशिष्ट चरित्र परिवर्तन गर्ने, अमेरिकी भावनालाई कमजोर पार्ने र इतिहासबाट टाढा लैजाने अस्वीकार्य प्रयास हुँदै आएको छ”, ट्रम्पले भने ।
यद्यपि उनको भाषण अपेक्षाकृत नरम शैलीको भए पनि सन्देश स्पष्ट रूपमा राजनीतिक थियो । उनले थप भने, “तपाईं यहीँ जन्मिनु आवश्यक छैन, तर हामीले निर्माण गरेको कुरालाई तपाईंले माया गर्नैपर्छ ।”
माउन्ट रसमोरजस्तो ऐतिहासिकस्थलमा गरिएको यो सम्बोधनलाई ट्रम्पका समर्थकहरूले प्रतीकात्मक महत्वपूर्ण अवसरका रूपमा लिएका छन् । केहीले जर्ज वासिङ्टन, थोमस जेफरसन, अब्राहम लिङ्कन र थियोडोर रुजवेल्टसँगै ट्रम्पको आकृति पनि कुँद्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
यसैबीच, ट्रम्पले आगामी जुलाई ४ मा वाशिङ्गटनको नेशनल मलमा चुनावी शैलीको राजनीतिक सभा गर्ने घोषणा गरेका छन्, जहाँ सैन्य जेट विमानहरूको उडान र विशाल आतिशबाजी प्रदर्शन हुने बताइएको छ ।
राष्ट्रिय एकताको अवसर मानिने वार्षिकोत्सव नजिकिँदै गर्दा अमेरिकामा राजनीतिक विभाजन अझ गहिरिँदै गएको देखिन्छ । इरानसँगको तनाव, बढ्दो जीवनयापन लागत र आप्रवासन नीतिलाई लिएर ट्रम्प प्रशासन आलोचनाको सामना गरिरहेको छ ।
हालैका सर्वेक्षणहरूमा अमेरिकी ‘ड्रीम’ प्रति जनविश्वास कमजोर भएको देखिएको छ । क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणअनुसार ६१ प्रतिशत अमेरिकीले देश स्वतन्त्रताको घोषणापत्रमा उल्लेखित आदर्शअनुसार नचलेको धारणा राखेका छन् ।
यसैबीच, लसएन्जलसकी शिक्षिका एमी किमाराले एएफपीलाई भने, “जुलाई ४ स्वतन्त्रताको दिन हो, तर अहिलेको राजनीतिक अवस्थाका कारण यो उत्साहजनक लाग्दैन ।”
