मुस्ताङ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा निर्माणाधीन चक्रपथ सम्पन्न भएसँगै आवागमन सहज भएको छ ।
पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएको हो । घरपझोङ गाउँपालिकाअन्तर्गत सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १० दशमलव पाँच किलोमिटरको चक्रपथको हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताए ।
विसं २०७७ माघसम्म निर्माण सम्पन्न गर्रेगरी विसं २०७६ असार २६ गते ठेक्का सम्झौता भएको थियो । कोभिड माहामारी, हिमपात, प्रतिकूल मौसम, निर्माण कम्पनीको ढिलासुस्तीलगायत कारणले काम सम्पन्न हुने नसकेको उनले उल्लेख गरे ।
सुरुआती ठेक्का सम्झौता अवधि डेढ वर्ष तोकिए पनि पटकपटक म्याद थप गरी सात वर्षमा निर्माण सम्पन्न भएको हो । इन्जिनीयर पाण्डेका अनुसार उक्त चक्रपथ रु २१ करोड ३५ लाख ६१ हजार लागतमा बन्दन भगवती जलजला जेभी कन्ट्रक्सनले निर्माण गरेको हो । दश दशमलव पाँच किमीमध्ये पाँच दशमलव पाँच किमी सडक ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र गरिएको जनाउँदै बाँकी ग्राभेल गरिएको उनले बताए ।
यसैबीच, निर्माण कम्पनीले ट्राफिक सङ्केतका चिह्न अङ्कित खम्बा गाड्ने, नाली सफा गर्ने, सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना न्यूनीकरणका लागि बार लगाउनेलगायतका कार्य सम्पन्न भइसकेका इन्जिनियर पाण्डेले जानकारी दिए ।
राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकलाई जोड्ने गरी घरपझोङ गाउँपालिकास्थित कालिगण्डकी पारिका ओझेलमा परेका गाउँ जोड्ने गरी चक्रपथ निर्माण गरिएको । पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।
घरपझोङ गाउँपालिकाका पाच वटै वडा जोड्ने चक्रपथ निर्माणले स्थानीय नागरिकलाई सदरमुकाम जोमसोम आउन जान सहज भएको घरपझोङ-५ का वडाध्यक्ष प्रदीप थकालीले बताए । उनका अनुसार यसअघि कालिगण्डकी पारिका गाउँमा सडकको पहुँच नहुँदा उत्पादित कृषिउपजको बजारीकरणमा समस्या आएको थियो ।
यसैगरी घरपझोङ चक्रपथ सडकअन्तर्गत जोमसोमबाट ढुम्बातालसम्म कालोपत्र विस्तार गरिएपछि मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटकलाई आवागमनमा सहज भएका वडाध्यक्ष थकालीले बताए । “सडक स्तरोन्नतिसँगै मुक्तिनाथ हुँदै ढुम्बातालको अवलोकन गर्न आएका पर्यटकका लागि यातायातको सुविधा विस्तार भएको छ । यसले पर्यटन प्रवर्द्धन गर्ने विश्वास छ”, उनले भने ।
