पोखरा । पोखरामा रोजगार मेला (जब फेयर) सुरु भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा मेला आयोजना गरिएको हो । मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार उद्घाटन गरेका छन् ।
जागिर खोज्ने र जागिर दिनेहरूलाई एकै स्थानमा भेट गराई रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा रोजगार चाहनेहरूले आफ्नो व्यक्तिगत विवरण पेस गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम रहेको छ । मेलामा नेपालका प्रतिष्ठित ५० बढी रोजगारदाता कम्पनीहरूको सहभागिता रहेको छ ।
उद्यमशिला विकास, रोजगारी सृजना र स्वरोजगारीयुक्त जनशक्ति तयार गर्ने सन्दर्भमा पोखरा महानगरपालिका निरन्तर लागिरहेको नगर प्रमुख आचार्यले बताए ।
नगर क्षेत्रमा बसोबास गर्ने नगरवासीहरूलाई दक्ष र सीपयुक्त बनाउँदै रोजगारीसँग जोड्ने कार्यलाई व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत निरन्तर कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए । महानगरपालिकाले केन्द्र मार्फत तालिम, प्रशिक्षण, मेला तथा प्रवद्र्धनात्मक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको उनले बताए ।










