कर्णालीमा बेपत्ता गाडी खोज्न बिहानैदेखि गोताखोर परिचालन भएपनि अझै भेटिएन गाडी

कर्णाली । बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहान ८ बजेदेखि पुनःपरिचालन भएका छन् ।

बिहान ८ बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।

बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज पुनःखोजी गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

उनले भने, “जलसतह मात्र बढेको छैन, नदीको बेग पनि त्यत्तिकै तीव्र छ । पानी धमिलो छ । घटनास्थलमा सिधै जाने ठाउँ छैन । अछाम जिल्लाबाट खोज्नुपरेको छ । अचेत अवस्थाम भिरमा अड्केका एक जना पुरुषको उद्धार गरी अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको छ । मृतकको ठेगाना खुल्न सकेको छैन ।”

खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना घटनास्थलमा परिचालन गरिएको छ ।
सुर्खेत बसपार्कबाट बिहान ८ः०० बजे गाडी छुट्दा तीन र दैलेखको डुङ्गेश्वरबाट दुई, चालक र सहचालक गरी अहिलेसम्म आधिकारिक सात व्यक्ति गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।

गाडी ४०० मिटर तल खसी कर्णाली नदीमा डुबेको स्थान प्रहरीचौकी दैलेखबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ रहेको छ ।

यसैबीच राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बेपत्ताको खोजी तथा उद्दारका लागि हेलिकप्टर नपठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक संजालमार्फत शाहीले भनेका छन्, ‘विपत् व्यवस्थापन र उद्धारका लागि हेलिकप्टर राख्छु भनेर संसदमा ठूला–ठूला गफ गर्ने सरकार, कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा भने झण्डै २० घण्टा बितिसक्दा पनि हेलिकप्टर पठाउन सकेको छैन । संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै प्राथमिकता हुँदैन। तर यहाँ पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको आशामा रातभर जागा छन्, उनीहरूको आँखाको आँसु सुकिसकेको छ, तर राज्यको उपस्थितिको अनुभूति अझै हुन सकेको छैन।’

शाहीले विपत् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता केवल भाषण र घोषणामै सीमित भएको बताएका छन् । उनले भनेका छन्, ‘विपत् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता केवल भाषण र घोषणामै सीमित हुने हो भने त्यसको अर्थ के रहन्छ? यस्तो संवेदनशील घडीमा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्छ। प्रत्येक क्षण अमूल्य छ, किनकि ढिलो भएको प्रत्येक मिनेटले कसैको जीवनसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ । सरकारसँग हार्दिक आग्रह छ—राजनीति होइन, मानवताको पक्षमा उभिनुहोस्। उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्नुहोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *