काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयमाा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् ।
चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो । महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम तथा महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् ।
त्यसैगरी, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन् ।
पार्टी विधानअनुसार १९ पदाधिकारीमध्ये वरिष्ठ नेतासहित ११ जना पदाधिकारी मनोनयन गरिने व्यवस्था रहेको छ । यस्तै, ५१ जना केन्द्रीय सदस्य पनि मनोनयनमार्फत चयन गरिने प्रावधान रहेको पार्टीले जनाएको छ ।
शपथग्रहण समारोहमा सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र र पार्टीको घण्टीअंकित चिनो समेत वितरण गरेका थिए ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि १२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो ।


