काराकास । भेनेजुएलामा शक्तिशाली भूकम्पपछि उद्धारकर्मी र स्थानीय बासिन्दा भग्नावशेषमा जीवित व्यक्तिको खोजीमा जुटेका छन् । हजारौँ मानिस अझै भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।
राजधानी कराकाससँग जोडिएको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ। बुधबार लगातार ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प आएपछि यहाँका सयौँ भवन ध्वस्त भएका छन्।
अधिकारीहरूका अनुसार हालसम्म भूकम्पमा कम्तीमा १ हजार ४३० जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइते र मृतकको संख्या निरन्तर बढिरहेको छ भने संयुक्त राष्ट्रसंघले करिब ५० हजार मानिस अझै बेपत्ता रहेको अनुमान गरेको छ।
स्थानीय बासिन्दा आफ्ना आफन्त र सम्पत्तिको खोजीमा भग्नावशेष हटाइरहेका छन्। उनीहरू कंक्रिट र फलामका संरचनामुनि कोही जीवित रहेको संकेत दिने कुनै आवाज आउँछ कि भनेर प्रतीक्षा गरिरहेका छन्।
राष्ट्रिय उद्धार टोली सीमित रहे पनि मेक्सिको, स्पेन, अमेरिका र बेलायतबाट आएका अन्तर्राष्ट्रिय उद्धारकर्मीहरू उद्धार अभियानमा सहभागी भएका छन्। तर मानवीय सहायता संस्थाहरूका अनुसार उपलब्ध जनशक्ति र उपकरण अझै अपर्याप्त छन्।
उद्धार विज्ञहरूका अनुसार भूकम्पपछि पहिलो ४८ देखि ७२ घण्टा जीवित व्यक्तिको उद्धारका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ। यद्यपि, भग्नावशेषमुनि फसेकाहरूले पानी र खाद्यान्न पाउन सकेमा उनीहरू लामो समयसम्म पनि बाँच्न सक्ने सम्भावना रहन्छ।
