मनसुनजन्य विपद व्यवस्थापनका लागि सशस्त्र प्रहरीको ८ हजार १८० जनशक्ति ‘स्ट्यान्डबाइ’

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद व्यवस्थापनका लागि देशव्यापी रूपमा उच्च सतर्कता अपनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी सशस्त्र प्रहरीले ८ हजार १८० जना जनशक्तिलाई २४सै घण्टा स्ट्यान्डबाइ अवस्थामा राख्दै उद्धार तथा प्रतिकार्यका लागि आवश्यक स्रोत–साधन तयारी अवस्थामा राखेको जनाएको हो ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ अनुसार हालसम्म २१ हजार ६९९ जना सशस्त्र प्रहरीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ। असार मसान्तभित्र सम्पूर्ण सशस्त्र प्रहरीलाई तालिम दिने लक्ष्य रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । विपद् जोखिम बढी रहेका क्षेत्रलाई लक्षित गर्दै कोशीदेखि सुदूरपश्चिमसम्म ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ।

साथै १६ वटा संवेदनशील क्षेत्रमा विपद् व्यवस्थापन बेस स्थापना गरी जनशक्ति तथा उपकरणसहित तयारी अवस्थामा राखिएको छ । विपद् उद्धार कार्यका लागि ८२ वटा राफ्ट बोट, ५३ वटा मोटर बोट, १३४ जना तालिमप्राप्त गोताखोर तथा ४ हजार ७१० जना विशिष्टीकृत तालिम प्राप्त उद्धारकर्मी तयारी अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *