काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झण्डै १९ खर्बको वस्तु आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जुन आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो ।
त्यस्तै, समीक्षा अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले धेरै हो ।
आयात १५.१६ प्रतिशत र निर्यात १२.२८ प्रतिशतले बढ्दा चालु नेपालको वैदेशिक व्यापार घाटा १५.६७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ भने दोस्रो धेरै आयात सोयाबिन तेल र सो को कच्चा पदार्थ भएको छ ।
११ महिनामा नेपालमा १ खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँको डिजेल आयात भएको छ भने ६८ अर्ब १७ करोड रुपैयाँको ६ लाख ८५ हजार किलोलिटर पेट्रोल आयात भएको छ । त्यस्तै १ खर्ब १९ अर्ब ६३ करोड २ लाख ७ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ ।
त्यस्तै, नेपालबाट १ खर्ब १३ अर्ब रुपैयाँको सोयाबिन तेल र सोको कच्चा पदार्थ र १२ अर्ब १ करोड १४ लाख ८६ हजार रुपैयाँको अलैँची निर्यात भएको विभागले जनाएको छ ।
त्यस्तै स्पन्न आइरन ५३ अर्ब ६९ करोड रुपैयाँको १ अर्ब २२ करोड किलो भन्दा बढी आयात भएको छ । त्यस्तै, एलपी ग्यास ५२ अर्ब २१ करोड रुपैयाँको ४७ करोड ५९ लाख किलो र स्मार्ट फोन ४३ अर्ब ४५ करोड रुपैयाँको २० लाख ४१ हजार थान आयात भएको छ।
