काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने रास्वपाको पहिलो महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आगामी मंगलबार बिहान साढे ८ बजेबाट मतदान हुनेछ । मंगलबार बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तय भएको छ । मतदान सकिएको दुई घण्टामा मतगणना हुने कार्यतालिकामा उल्लेख छ ।
रास्वपाको अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको छ । रास्वपामा सभापति, वरिष्ठ नेता, उपसभापति–३ (महिला १ जना), महामन्त्री–२, सहमहामन्त्री–५ (महिला १), कोषाध्यक्ष–१, सहकोषाध्यक्ष–२, प्रवक्ता–१ र सहप्रवक्ता–३ जना रहनेगरी पदाधिकारी बन्नेछ ।


