ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छः अध्यक्ष साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिका विषयमा आफूहरूले दुई सातादेखि आवाज उठाउँदा सभामुखले समेत नसुनेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको पनि १६ दिन भएछ यो प्लेकार्ड बनाएर उभिएको पनि । सभामुखलाई पनि हामीले त्यति नै लामो समयदेखि उहाँले बोल्नुभएको राष्ट्रघाती शब्द डिलिट गरियोस् भनेको पनि त्यति नै दिन भयो ।’

उनले देश ढुङ्गाको हो कि मान्छेको भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने । ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ ।’

उनले उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए । त्यस्तै उनले अर्थ मन्त्रालयसँग सम्बन्धित बजेट कागजात वितरणमा भएको ढिलाइबारे प्रश्न उठाए ।

उनले रक्षा मन्त्रालयको बजेट बुक अझै उपलब्ध नभएको भन्दै उनले यो व्यवस्थापनको कमजोरी हो वा नियतगत समस्या भन्नेबारे स्पष्टता माग गरे । सूचना तथा सञ्चार मन्त्रालयले अघिल्लो दिन सार्वजनिक गरेको ५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ब्रेकडाउनमा पनि उनले असंगति देखिएको दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *