कावासोती । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको असार ६ गते हुने निर्वाचन नजिकिँदै जाँदा स्वतन्त्र प्यानलप्रति उपभोक्ताहरूको आकर्षण र विश्वास बढ्दै गएको देखिएको छ। विशेषगरी सचिव पदका उम्मेदवार रमाकान्त काफ्ले को सक्रियता, स्पष्ट कार्ययोजना र संस्थाप्रतिको प्रतिबद्धताले स्वतन्त्र प्यानललाई थप बलियो बनाएको भन्दै स्थानीय उपभोक्ताहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
विभिन्न वडाका उपभोक्तासँग गरिएको अनौपचारिक कुराकानीका क्रममा धेरैले संस्थामा पारदर्शिता, प्रभावकारी सेवा र उपभोक्ताको आवाजलाई प्राथमिकता दिने नेतृत्वको आवश्यकता रहेको बताएका छन्। यस्ता अपेक्षाहरू पूरा गर्न सक्ने टोलीका रूपमा स्वतन्त्र प्यानललाई हेर्न थालिएको उनीहरूको भनाइ छ।
स्वतन्त्र प्यानलका अध्यक्ष पदका उम्मेदवार अमृत कुमार श्रेष्ठले उपभोक्ताको हितलाई केन्द्रमा राखेर संस्थालाई पारदर्शी, जवाफदेही र सेवामुखी बनाउने लक्ष्यसहित आफूहरू निर्वाचनमा होमिएको बताएका छन् । उनले स्वच्छ तथा गुणस्तरीय खानेपानीको सुनिश्चितता, संस्थागत सुशासन, आर्थिक पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संस्थाको दीर्घकालीन विकास, स्रोतसाधनको प्रभावकारी व्यवस्थापन तथा उपभोक्ताको प्रत्यक्ष सहभागितामार्फत संस्थालाई नमुना संस्थाका रूपमा स्थापित गर्ने उनको लक्ष्य रहेको छ।
सचिव पदका उम्मेदवार रमाकान्त काफ्लेले शिक्षा, सामाजिक सेवा तथा व्यवस्थापन क्षेत्रमा हासिल गरेको अनुभवलाई संस्थाको विकासमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंका प्रतिष्ठित संस्थाहरू तथा विभिन्न सामाजिक संघसंस्थामा जिम्मेवारी सम्हालेको अनुभवलाई संस्थागत सुधार, सेवा व्यवस्थापन र उपभोक्तामैत्री कार्यशैलीमा प्रयोग गर्ने उनको योजना रहेको बताइएको छ।
उपभोक्ताहरूका अनुसार सचिव पद संस्थाको दैनिक प्रशासन, सूचना प्रवाह, निर्णय कार्यान्वयन र उपभोक्तासँगको प्रत्यक्ष समन्वयसँग जोडिएको महत्वपूर्ण जिम्मेवारी भएकाले रमाकान्त काफ्लेजस्ता शिक्षित, ऊर्जाशील र अनुभवी व्यक्तित्वको उम्मेदवारीले स्वतन्त्र प्यानलप्रति थप भरोसा बढाएको छ।
रमाकान्त काफ्लेले संस्थामा सुशासन, पारदर्शिता, जवाफदेहिता र छिटो सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने बताउँदै उपभोक्ताका गुनासा तथा समस्याको समयमै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वच्छ तथा गुणस्तरीय खानेपानी सेवाको सुनिश्चिततासँगै संस्थालाई प्रविधिमैत्री, व्यवस्थित र सेवामुखी बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।
स्थानीय तहमा देखिएको चुनावी माहोल, उपभोक्ताहरूको प्रतिक्रिया तथा उम्मेदवारहरूको सक्रियतालाई आधार मान्दा स्वतन्त्र प्यानल बलियो अवस्थामा रहेको र निर्वाचनमा राम्रो नतिजा हासिल गर्न सक्ने आकलन धेरै उपभोक्ताहरूले गरेका छन्। विशेषगरी युवापुस्ताको प्रतिनिधित्व, अनुभवी नेतृत्व र स्पष्ट कार्ययोजनाका कारण स्वतन्त्र प्यानलप्रति आकर्षण बढ्दै गएको बताइन्छ।
स्वतन्त्र प्यानलबाट अध्यक्षमा अमृत कुमार श्रेष्ठ, उपाध्यक्षमा सन्तु कुमारी ढकाल, सचिवमा रमाकान्त काफ्ले, जनजाति महिला सदस्यमा मिना कुमारी राना, दलित महिला सदस्यमा सनसरी नेपाली, लेखा संयोजकमा दिपेन्द्र न्यौपाने, लेखा सदस्यमा ईश्वरी प्रसाद अधिकारी तथा लेखा महिला सदस्यमा बेलमाया चापागाई उम्मेदवार छन् ।
त्यसैगरी वडा प्रतिनिधितर्फ वडा नं. २ बाट टेकनाथ चपाई, वडा नं. ३ बाट भरतराज सेढाई, वडा नं. ५ बाट वीरबहादुर थापा, वडा नं. ६ बाट यदुराम अधिकारी, वडा नं. ८ बाट माधवप्रसाद पोख्रेल तथा वडा नं. ९ बाट सूर्यबहादुर हमाल उम्मेदवार रहेका छन् ।
निर्वाचनको अन्तिम चरणमा पुगेको प्रचारप्रसार तथा उपभोक्ताहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले स्वतन्त्र प्यानल उत्साहित बनेको छ। अध्यक्ष अमृत कुमार श्रेष्ठको अनुभवी नेतृत्व र सचिव पदका उम्मेदवार रमाकान्त काफ्लेको सक्रियताले स्वतन्त्र प्यानललाई जितको नजिक पुर्याएको विश्वास समर्थक तथा धेरै उपभोक्ताहरूले व्यक्त गरेका छन्।
