काठमाडौं । ठेकेदारको हातखुट्टा भाँच्ने विवादित अभिव्यक्ति दिएका पूर्वाधारमन्त्री सुनिल लम्सालले संसद्मा स्पष्टीकरण दिएका छन् । बजेटबारे प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको बिहीबार जवाफ दिने क्रममा मन्त्री लम्सालले ठेकेदारलाई थर्काएको भन्दापनि बचाउन खोजेको बताएका हुन् ।
गतसाता नागढुंगा–मुग्लिन सडक स्तरोन्नति अनुगमनमा गएका बेला मन्त्री लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिए हुन्छ’ भन्ने अभिव्यक्ति सार्वजनिक भएको थियो ।
मन्त्री लम्सालले आफ्नो मनसाय काम गराउनु रहेको बताए । उनले भने उनले भने, ‘मेरो इन्टेन्सन त्यो होइन, इन्टेन्सन काम होस् भन्ने हो। उहाँहरूले काम गर्नुभएन भने हामीले रद्द गर्नुपर्छ टेन्डर। रद्द भयो भने त उहाँहरूको त तीन–सात पुस्ता सकिन्छ । किनभने बैङ्क ग्यारेन्टी थुत्छ। बैङ्क ग्यारेन्टी, फोर्स लोन हुन्छ त्यो। फेरि बाँकी कामको लागि असुलउपर गर्छ फेरि । त्यस कारणले गर्दा उहाँहरूलाई फेरि उठ्न असजिलो होला भन्ने हुन्छ । कसैलाई गाली गर्न मनै छैन । काम गर्देओस्, हामी चुपचाप लागेर बस्छौँ नि, खुसी हुन्छौँ। त्यो आशय यति हो हामीले उहाँहरूलाई बचाउनको लागि भनेको हो।’
उनले पूर्वाधार निर्माणको सम्बन्धमा मुख्य तीन चारवटा समस्या भएको बताए । उनले निर्माण सामाग्रीको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण भएको बताए । त्यस्तै, वनबाट स्वीकृति आउन वर्षौंसम्म लगाउने गरेको उनले बताए ।
