सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको माग यथावत रहेको बताए । साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने उनको भनाइ थियो ।
उनले संसदको ‘सेकेन्ड लट’ सुरु गर्ने समय पनि भइसकेको उल्लेख गर्दै सरकारको ध्यान सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यातर्फ जानुपर्ने बताए ।

‘प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइयो र उनीहरूलाई बेघर बनाइयो,’ उनले भने, ‘हाल उनीहरू कीर्तिपुरलगायतका स्थानमा रहेका होल्डिङ सेन्टरमा बस्न बाध्य छन् । त्यहाँ खाना र पानीको समेत अभाव छ ।’

अध्यक्ष साम्पाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरू नेपाली नागरिक नै भएकाले उनीहरूको आधारभूत आवश्यकताको व्यवस्थापन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *