बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राख्दै चीनको प्रविधि तथा लगानी आकर्षित गर्न पहल गरिरहेको बताएका छन्।
मंगलबार रोयटर्ससँगको अन्तर्वार्तामा उनले रोजगारी सिर्जना, उत्पादन वृद्धि र निर्यात विस्तार सरकारको मुख्य लक्ष्य रहेको बताएका हुन् । उनले भने, ‘हाम्रो प्राथमिकता नेपालको अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाउनु हो । हामी निर्यात बढाउन चाहन्छौँ, तर त्यससँगै देशभित्रै रोजगारी सिर्जना गर्ने गरी लगानी भित्राउन पनि चाहन्छौँ।’
खनालले चीनसँग नेपालको बढ्दो व्यापार घाटा चिन्ताको विषय रहेको उल्लेख गर्दै चीनले हजारौँ नेपाली वस्तुलाई भन्साररहित पहुँच उपलब्ध गराए पनि राजनीतिक अस्थिरताका कारण त्यसको पर्याप्त लाभ लिन नसकिएको बताए। उनले विगत ३५ वर्षमा नेपालमा ३२ पटक सरकार परिवर्तन भएको तथ्य पनि स्मरण गराए।
बेइजिङ भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी र वरिष्ठ नेता वाङ हुनिङसँग कृषि, स्वास्थ्य, पर्यटन, विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल गरेका छन्।
खनालले नेपालले प्रत्येक मुलुकसँगको सम्बन्धलाई आफ्नै महत्वका आधारमा मूल्याङ्कन गर्ने बताउँदै भारतलाई ऊर्जा निर्यातको सम्भावित बजार तथा चीनलाई प्रमुख पर्यटक स्रोतका रूपमा व्याख्या गरे।
उनले एलन मस्कको स्टारलिङ्क र चिनियाँ कम्पनी हुवावेसँग इन्टरनेट सेवा विस्तारबारे छलफल भइरहेको पुष्टि गरे। यद्यपि यस विषयमा कुनै अन्तिम निर्णय नभएको र आवश्यक कानुनी तथा नियामकीय व्यवस्था गर्नुपर्ने उनले बताए।
सोमबार भएको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले नेपाललाई आफ्नो ‘छिमेकी कूटनीति’को प्राथमिकतामा राख्दै आएको बताएका थिए। उनले ऊर्जा, सडक, बन्दरगाह तथा हवाई पूर्वाधार विकासमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
