मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ । जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन गरिएको छ ।

घरपझोङ गाउँपालिका कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवाला निकायले संयुक्त रुपमा बजार मुस्ताङको पर्यटकीय केन्द्र जोमसोम बजार क्षेत्रमा आज छड्के अनुमगन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको टोलीले घरपझोङ—३ जोमसोमस्थित पुथाङ एयरपोर्ट बजार क्षेत्रमा छड्के अनुगमन गरेको थियो ।

गाउँपालिका उपाध्यक्ष जमुना थकालीको नेतृत्वमा पुथाङ एयरपोर्ट बजार क्षेत्रका २५ भन्दा बढी  होटल तथा किराना र खाद्यान्न पसलहरुमा आकस्मिक छड्के अनुगमन गरिएको गाउँ कार्यपालिका सदस्य भिषण थकालीले जानकारी दिए ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम तथा सबैभन्दा बढी पर्यटकको चहलपहल हुने मुख्य केन्द्र पुथाङ एयरपोर्ट क्षेत्रमा गाउँपालिकाले आकस्मिक छड्के अनुगमन गरिएको हो । पर्यटकीय यामसमेत भएकाले मुस्ताङ आएका पर्यटक तथा सर्वसाधारण नागरिकको स्वास्थ्य रक्षाका लागि बजार अनुगमन गरिएको उपाध्यक्ष थकालीले बताए ।

म्याद गुज्रिएका अखाद्य पदार्थ तथा वस्तुले मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले गाउँपालिकाको अगुवाइमा छड्के अनुमगन गरिएको उपाध्यक्ष थकालीको भनाइ छ ।

घरपझोङ गाउँपालिकाले विसं २०८० सालदेखि गाउँपालिकाभित्रका व्यापारिक प्रतिष्ठानहरुमा  सिसाका बोतलमा ‘ब्रान्डिङ’ गरिएको मदिराजन्य बियर बिक्री वितरण गर्न प्रतिबन्ध लगाइसकेको छ ।

गाउँपालिकाको उक्त नियमलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी बजार अनुगमन गरिएको हो । सिसाजन्य बियरका बोतलले दुर्घटना र जोखिम निम्त्याउने र वातावरण स्वच्छतामा समेत प्रतिकूल असर पु¥याउने भएकाले गाउँपालिकाले बोतलमा ब्रान्डिङ गरिएका बियर बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै आइरहेको छ ।

गाउँपालिकाद्वारा गरिएको बजार अनुगमनका क्रममा डेढ दर्जन पर्यटक लक्षित होटल र आधा दर्जन बढी किराना, फ्रेस हाउस र खाद्यान्न पसलहरुको अनुगमन गरियो । टोलीले व्यवसायीले होटल तथा पसलहमा साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, लगबुक रजिस्ट्रार राखेको/नराखेको तथा खरिद बिल तथा उपभोक्तालाई दिइने बिल, सरसफाइ, मदिराको मूल्य अभिवृद्धि करको प्रमाणपत्र दर्ता तथा नवीकरण गरे/नगरेकोबारे सोधनी गरेको थियो ।

त्यस्तै, स्वदेशी तथा विदेशी र स्थानीय मदिराको पेयपदार्थमा अन्तःशुल्क स्टिकर राखेको वा नराखेको, खाद्य सामग्रीको लेबल चेकजाँच, नापतौल चेकजाँच र व्यवसायले प्यान वा भ्याट बिल प्रयोग गरेको वा नगरेको लगायतको अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका अखाद्य पदार्थलाई बरामद गरी सरोकारवाला निकायको रोहबरमा जोमसोमस्थित कालीगण्डकी नदी किनारामा खाल्डो खनी नष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *