सरकार संसदप्रति गैरजिम्मेवार बनेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेखा यादवले सरकार संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन् ।

सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्। उनले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताइन् ।

उनले भनिन्,‘मानव अधिकार आयोगको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ । त्यस्तै अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउन चाहन्छु । मन्त्रीले रोष्ट्रमबाट सांसदलाई धम्क्याउने । देशमा नियम कानुन छ, फाइल खोल्छु भन्दै धम्की दिन मिल्छ ? नियम, कानुनअन्तर्गत फाइल खोलेर कारबाही गर्ने हो आफ्नो बचाउको लागि धम्की दिने होइन ।’

सांसद यादवले सीमाका विषयमा प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्,‘प्रधानमन्त्रीले दिनुभएको सीमा सम्बन्धी विवादको ठोस जवाफ कहिले आउँछ ? म सरकारसँग माग गर्न चाहन्छु । विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो परराष्ट्रमन्त्रीले हामीलाई जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ । ढाकछोप गर्ने काम मात्र भएको हो ।’

त्यसैगरी उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेकेदारले काम नगरे ‘खुट्टा भाँचिदिने’भनेर अभिव्यक्ति दिएको विषयमा आपत्ति जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *