एमालेले अब ‘एल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ मा विशेष ध्यान केन्द्रित गर्ने

काठमाडौँ । नेकपा एमालेले आमनिर्वाचनमा पार्टीले बेहोर्नु परेको परिणामलाई ‘अप्रत्याशित र अस्वाभाविक’ हार भनेको छ । पार्टीको ‘मिसन जागरण अभियान’ सर्कुलरमा एमालेले आफ्नो सरकारको योजना, काम र परिणामबारे जनतामा सही सूचना प्रवाह हुन नसक्नु र पार्टी विरुद्ध फैलाइएका भ्रमको समयमै खण्डन गर्न नसक्दा निर्वाचनमा धक्का लागेको दाबी गरिएको छ । त्यस्तै एमाले ले रास्वपाको उदयलाई ‘आकस्मिक र अस्वाभाविक’ घटनाको रूपमा व्याख्या गरेको छ ।

सर्कुलरमा एमालेले रास्वपाको उदय नेपालको अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम भएको जिकिर पनि गरेको छ । एमालेले मुलुकलाई सुरक्षित लोकतान्त्रिक बाटोमा फर्काउन आफ्नो पार्टी सबल र सुदृढ हुनु आवश्यक रहेको बताउँदै ‘६ज’ को नीतिलाई प्रभावकारी ढङ्गले लागू गर्ने योजना अघि सारेको छ । जसमा जनतामा जाने, जनताका कुरा सुन्ने, लोकप्रिय बन्ने, जनसङ्गठन परिचालन गर्ने, जबजलाई आत्मसात् गर्ने र जनमत सर्वेक्षणका आधारमा योग्य नेतृत्व तयार गर्ने उल्लेख छ ।

एमालेले पार्टी संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ‘डिजिटल राजनीति’ मा आफ्नो उपस्थिति आक्रामक बनाउने योजना अघि सारेको छ । सर्कुलरमा अबको प्रतिस्पर्धा ‘एटेन्सन इकोनोमी’ (ध्यान तान्ने अर्थतन्त्र) मा हुने निष्कर्ष निकाल्दै २४ सै घण्टा सक्रिय रहने ‘डिजिटल वार रुम’ स्थापना गर्ने लक्ष्य लिएको हो । गत निर्वाचनमा पार्टी पछि पर्नुमा डिजिटल प्लेटफर्मको भाषा नअँगाल्नु, ढिलो प्रतिक्रिया जनाउनु र युवा अडियन्ससँगको विच्छेद हुनु मुख्य कारण रहेको ठहर एमालेले गरेको छ ।

यसलाई चिर्न एमालेले अब चुनावी प्रतिस्पर्धा केवल निर्वाचन क्षेत्रमा मात्र नभई मानिसको मोबाइल स्क्रिन र ‘एटेन्सन’ मा पनि लडिने रणनीति बनाएको हो । एमालेले डिजिटल दुनियाँको ‘एल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ (धारणा व्यवस्थापन) लाई विशेष ध्यान दिने बताएको छ । सामाजिक सञ्जालमा तथ्य र दृष्टिकोणका आधारमा सशक्त उपस्थिति कायम गर्न ‘इको च्याम्बर’, ‘रिपिटिसन’, ‘इमोसनल ट्रिगर’ र ‘माइक्रो–टार्गेटिङ’ जस्ता प्रविधिहरू प्रयोग गर्ने सर्कुलरमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *