सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन तथा अखाद्य खाद्यवस्तु प्रयोग भइरहेको भेटिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’ मा आकस्मिक निरीक्षण गर्दा विभिन्न गम्भीर कमजोरी फेला पारेको हो ।

अनुगमनका क्रममा क्यान्टिनको भण्डारण कक्षबाट १७ किलोग्राम घुन परेको चनाको दाल, ११ किलोग्राम ओसिएर बिग्रिएको बदाम तथा प्रयोगका लागि अयोग्य अवस्थामा रहेका १४ वटा फुटेका अन्डा बरामद गरिएको विभागले जनाएको छ । ती सामग्री उपभोगका लागि अनुपयुक्त देखिएपछि तत्काल नियन्त्रणमा लिएर नष्ट गरिएको थियो। नष्ट गरिएका सामग्रीको मूल्य करिब ६ हजार ५ सय ६० रुपैयाँ रहेको बताइएको छ ।

विभागका अनुसार अखाद्य तथा गुणस्तरहीन खाद्यवस्तु प्रयोग गरी उपभोक्ताको स्वास्थ्यमा जोखिम पुर्‍याउने काम उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) विपरीत भएकाले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम क्याफे सञ्चालकलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको ह।

यसैबीच, संयुक्त अनुगमन टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा रहेको ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ मा पनि निरीक्षण गरेको थियो। उद्योगले आवश्यक खरिद बिल सुरक्षित नराखेको र उपभोक्ता संरक्षणसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरेको पाइएपछि १० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।

शुक्रबार नै काठमाडौंका विभिन्न स्थानमा सञ्चालित अन्य १० वटा व्यावसायिक प्रतिष्ठानमा समेत बजार अनुगमन गरिएको थियो। ती प्रतिष्ठानमा भने सामान्य प्राविधिक कमजोरी मात्र देखिएकाले तत्काल सुधार गर्न र कानुनी मापदण्ड पालना गर्न निर्देशन दिइएको विभागको भनाइ छ।

विभागले खाद्य सुरक्षा र उपभोक्ताको स्वास्थ्यसँग जोडिएका विषयमा अनुगमनलाई थप प्रभावकारी बनाइने र कानुन उल्लङ्घन गर्ने व्यवसायीमाथि आवश्यक कारबाही निरन्तर जारी रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *