काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
महामन्त्री पौडेलले बुधबार विज्ञप्ति जारी गरी पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद यही जेठ २८ गते राति १२ बजे समाप्त हुन लागेको जनाउँदै छुट भएकालाई अद्यावधिक गर्न आग्रह गरेका हुन् ।
उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार २०९ जना सदस्यमध्ये आजसम्म चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरिसकेका छन् । यस्तै, एक लाख २४ हजार ७४८ जना सदस्यले अद्यावधिक फारम पेस गरी प्रक्रियामा रहेका उनले बताए ।
कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउन र वास्तविक सदस्यको तथ्याङ्क एकीकृत गर्न यो अभियान सञ्चालन गरेको हो ।
