काठमाडौँ । नेपाल–इजिप्ट द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को दोस्रो बैठक इजिप्टको राजधानी कायरोमा सम्पन्न भएको छ । इजिप्टको परराष्ट्र, अन्तर्राष्ट्रिय सहयोग तथा आप्रवासी मन्त्रालयमा आयोजित बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयअन्तर्गत मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख सहसचिव रामकाजी खड्का र इजिप्टको तर्फबाट एसियाली मामिलासम्बन्धी सहायक परराष्ट्रमन्त्री राजदूत अम्र हम्जाले सहअध्यक्षता गरेका थिए ।
बैठकमा राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक तथा प्राविधिक सहकार्यलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो । दुवै पक्षले नेपाल र इजिप्टबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, श्रम, कृषि, शिक्षा, भिसा तथा कन्सुलर सेवाका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली पक्षले नेपालमा रहेको लगानीमैत्री वातावरणबारे जानकारी दिँदै विशेषगरी कृषि तथा मल उद्योगमा लगानीका अवसर खोज्न इजिप्टेली कम्पनीहरूलाई आग्रह गरेको थियो । साथै चिया, कफी र पश्मिनाजस्ता नेपाली उत्पादनको बजार पहुँच विस्तारमा चासो व्यक्त गरिएको थियो ।
इजिप्टेली पक्षले आर्थिक सहकार्य, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे जोड दिएको थियो ।
बैठकमा नेपाली पक्षले ५ मार्च २०२६ मा सम्पन्न निर्वाचनपछि स्थिर सरकार गठन भएको र सरकार सुशासन, पारदर्शिता तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिका साथ अघि बढिरहेको जानकारी दिएको थियो । इजिप्टेली पक्षले सफल निर्वाचन सम्पन्न भएकोमा नेपाललाई बधाई दिएको थियो ।
दुवै पक्षले संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन (नाम), विश्व व्यापार संगठन तथा विश्व स्वास्थ्य संगठनलगायत बहुपक्षीय मञ्चहरूमा सहकार्य सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । नेपाली पक्षले मध्यपूर्वमा शान्ति र स्थायित्व प्रवद्र्धनमा इजिप्टले खेलेको भूमिकाको प्रशंसा गरेको थियो ।
बैठकको अन्त्यमा नेपालको इन्स्टिच्युट अफ फरेन अफेयर्स र इजिप्टको इन्स्टिच्युट फर डिप्लोम्याटिक स्टडिजबीच कूटनीतिक तालिम, अनुसन्धान तथा शैक्षिक आदानप्रदान प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बीसीएम स्थापना सम्बन्धी समझदारीपत्र नेपाल र इजिप्टबीच १६ जुलाई २००७ मा कायरोमा हस्ताक्षर भएको थियो । संयन्त्रको पहिलो बैठक मार्च २००८ मा काठमाडौंमा सम्पन्न भएको थियो । अर्को बैठक काठमाडौंमा आयोजना गरिने जनाइएको छ ।







