सुदन गुरुङकोसम्बन्धमा छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्बन्धमा छानबिन गर्न बनेको समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री हुँदा विवादमा परेपछि गुरुङले राजीनामा दिएका थिए । त्यसपछि छानबिन गर्न समिति बनाइएको थियो । छानबिन समितिले आफ्नो अध्ययनपछि गुरुङलाई सफाइ दिएको थियो । गुरुङका सबै सेयर र सम्पत्ति मगाएर अध्ययन गर्दा उनीमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको हो ।

त्यस्तै बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

भण्डारी नेपाल रेडक्रसका पूर्व कार्यवाहक अध्यक्ष हुन् । त्यसैगरी बैठकले तल्लो अरुण जलविद्युत् आयोजना, लोअर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत भएको छ । मन्त्रिपरिषद बैठकले निजामती सेवा सोह्रौं संशोधन नियमावली २०८३ स्वीकृत समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *