काठमाडौँ । नेकपा एमालेका नेता झपट रावलले पार्टीमा ‘पाँडे पजनी’ रहेसम्म इमान्दार कार्यकर्ताको रगत, पसिना बगाएर गरिएको मेहनतको कदर नहुने बताएका छन् ।
सामाजिक संजालमार्फत रावले पार्टीलाई बचाउने र बलियो बनाउने एउटै मात्र ओखती सामूहिक निर्णय, सामूहिक जिम्मेवारी र सामूहिक नेतृत्व भएको बताएका हुन् । उनले भनेका छन्, ‘जबसम्म पार्टीमा ‘पाँडे पजनी”’रहिरहन्छ, तबसम्म इमान्दार कार्यकर्ताको रगत, पसिना बगाएर गरिएको मेहनतको कदर हुँदैन। कसैको निगाहमा पद बाँड्ने र खोस्ने प्रवृत्ति रहुन्जेल हुने यही नै हो । पार्टीलाई बचाउने र बलियो बनाउने एउटै मात्र ओखती (उपाय) होःसामूहिक निर्णय, सामूहिक जिम्मेवारी, सामूहिक नेतृत्व र सामूहिक जवाफदेहिता ।’
उनले एक व्यक्तिको सनक र अहंकारले क्षति बाहेक केही नहुने बताएका छन् । उनले भनेका छन्, ‘एक व्यक्तिको सनक र अहङ्कारले होइन, सामूहिक पद्धतिको जगमा मात्रै बलियो पार्टी निर्माण सम्भव छ। आउनुहोस्, व्यक्तिवादको घेरा तोडौँ र पद्धतिको सुरुवात जहाँ छौँ, त्यहीँबाट आजै आरम्भ गरौँ।’
