काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको छ । दुई मन्त्रीले नेपाल–भारत द्विपक्षीय सम्बन्धको सबै आयाममा व्यापक छलफल गरेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
छलफलमा व्यापार र आर्थिक सहयोग, सीमापार सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदमार्फत जनता–जनता सम्बन्धको प्रवद्र्धनजस्ता विषय समेटिएको थियो । दुवै पक्षले दुई छिमेकी देशबीचको दिगो साझेदारीलाई सुदृढ पार्ने प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन् ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्ष विकास साझेदारी, वृद्धि गरिएको सम्पर्क र पारस्परिक लाभका प्राथमिकताका क्षेत्रहरूमा बलियो साझेदारीमार्फत द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र फराकिलो बनाउन सहमत भए ।’
बैठकपछि तीन बुँदे संयुक्त घोषणासमेत गरिएको छ । जुन २०२३ मा एनसीएचएल र एनपीसीआईबीच हस्ताक्षर भएको समझदारीपत्रअन्तर्गत ए२ए क्रस बोर्डर भुक्तानी लेनदेनको सञ्चालन, भारतको विकास सहयोगमा निर्मित नेपालमा भूकम्पपछिको ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक क्षेत्रको पुनर्निर्माण परियोजनाहरू हस्तान्तरण र ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका निम्ति राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको डिजिटल सार्वजनिक पूर्वाधार र कृत्रिम बुद्धिमत्ता केन्द्र र डिजिटल भारत भाशिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान गर्ने सहमति भएको छ ।
यसअघि, भारतीय विदेशमन्त्री जयशंकरले भेटमा विकास सहयोग, कनेक्टिभिटी, ऊर्जा, विशेष गरी जलविद्युत् विकास, शिक्षा, स्वास्थ्य, क्यापासिटी बिल्डिङ, डिजिटल, संस्कृति र खेलकुदलगायत नेपाल–भारत साझेदारीका बारेमा विस्तृत छलफल भएको बताएका थिए ।

