शैक्षिक सामग्रीमा बौद्ध धर्मलाई जोडेर कपोलकल्पित तथा भ्रमपूर्ण विषयवस्तु प्रकाशित गरेकोमा बौद्ध महासंघको आपत्ति

काठमाडौं । नेपाल बौद्ध महासंघले विभिन्न पुस्तक तथा शैक्षिक सामग्रीमा ‘झुमा र ढावा प्रथा’ शीर्षकमा बौद्ध धर्म र समुदायसँग जोडेर कपोलकल्पित तथा भ्रमपूर्ण विषयवस्तु प्रकाशित गरिएको भन्दै आपत्ति जनाएको छ ।

महासंघले शनिबार विज्ञप्तिमार्फत लामो समयदेखि यस्ता सामग्री प्रकाशन हुँदै आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अनुसार उक्त विषयमा लेखक, प्रकाशक तथा नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघका प्रतिनिधिहरूसँग वृहत् छलफल गरिएको थियो ।

छलफलपछि सम्बन्धित लेखक तथा प्रकाशकहरूले सामग्री पूर्णतः गलत भएको स्वीकार गर्दै क्षमायाचनासहित प्रकाशित पुस्तक तथा शैक्षिक सामग्रीबाट सो विषय हटाउने र आगामी संस्करणमा समावेश नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

महासंघले आगामी दिनमा हिमाली समुदाय, बौद्ध दर्शन, कला तथा संस्कृतिसम्बन्धी कुनै पनि पुस्तक, लेख वा रचना प्रकाशन गर्दा महासंघ वा सम्बन्धित आधिकारिक संघ–संस्थासँग अनिवार्य परामर्श तथा समन्वय गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *