‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित आरामदायी, सुरक्षित र सहज वातावरणको व्यवस्था गरिएको छ । उद्यान आसपासमा श्रम संस्कृति उद्यानसहित दर्जनौँ उद्यान निर्माण भइसकेका छन्, जहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ । यसले धरानको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याएको छ ।

धनकुटाको छथर जोरपाटीबाट परिवारसहित धरान घुम्न आएकी रमिला राई ज्येष्ठ नागरिक उद्यान पुगिन् । अवलोकनपछि उनले ज्येष्ठ नागरिकका लागि यस्तो सुविधासम्पन्न उद्यान निर्माण हुनु खुसीको विषय भएको बताइन् । “हामीजस्ता बूढाबूढीका लागि यस्तो उद्यान बनेकामा धेरै खुसी लागेको छ । हिँड्न सजिलो, बस्न मिल्ने र शान्त वातावरण भएकाले यहाँ समय बिताउन निकै रमाइलो लाग्यो”, उनले भनिन्, “पहिले झाडीले ढाकिएको घना जङ्गल रहेको स्थानमा अहिले सुन्दर उद्यान निर्माण भएको देख्दा निकै खुसी लागेको छ ।”

उद्यानभित्र खरले छाइएका र कमेरो माटोले लिपिएका आकर्षक साना घर निर्माण गरिएका छन् । ग्रामीण परिवेश झल्काउने यी संरचनाले उद्यानको सौन्दर्यलाई थप मनमोहक बनाएको छ । साथै उद्यानभित्र आकर्षक पोखरीसमेत निर्माण गरिएको छ । पोखरीले उद्यानको प्राकृतिक आकर्षणलाई अझ बढाएको छ ।

निर्माण समितिका भूपू सैनिक इन्जिनियर दीपेन्द्र राईका अनुसार उद्यानको आन्तरिक आर्किटेक्चरल तथा संरचनागत डिजाइन थ्रीडी मोडलिङका आधारमा तयार गरिएको हो । सैनिक जीवनमा हासिल गरेको अनुभवलाई यस परियोजनामा उपयोग गरिएको उनले बताए ।

श्रमदान र दाताको सहयोगमा निर्माण भइरहेको उद्यानमा प्राप्त सुझावअनुसार संरचनामा आवश्यक परिमार्जन गर्दै अन्तिम रूप दिइँदै लगिएको उनको भनाइ छ । उद्यान विशेषगरी ज्येष्ठ नागरिकको शारीरिक अवस्था र सहजतालाई ध्यानमा राखेर बनाइँदै छ । बस्नका लागि चौतारा, विश्रामस्थल तथा छोटो दूरीमै आराम गर्न सकिने संरचना निर्माण गरिएका छन् ।

त्यसैगरी, हिँडडुलमा सहजता हुनेगरी अपाङ्गतामैत्री पैदलमार्ग निर्माण गरिएको छ । ह्वीलचेयर प्रयोगकर्ताका लागि पनि अनुकूल संरचना तयार पारिएको छ । उद्यानभित्र एकतर्फी प्रवेश र अर्कोतर्फ सहज निकास हुने आवागमन प्रणालीसमेत समावेश गरिएको इन्जिनियर राईले जानकारी दिए ।

ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै हल्का शारीरिक अभ्यास तथा मनोरञ्जनका सामग्री राखिने व्यवस्था गरिएको छ । प्राथमिक उपचारका लागि मेडिकल कक्ष निर्माण गरिएको छ भने विश्रामका लागि आरामघर निर्माणाधीन अवस्थामा छन् । केही संरचनाको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी संरचनाको काम क्रमशः सम्पन्न गर्दै लगिने उनले बताए ।

दाताहरूको सहयोगमा निर्माण गरिएका साना घरमा विभिन्न जातजातिको संस्कार, संस्कृति र पहिचान झल्काउने सिलाम साक्मादेखि चिन्दोसम्मका सांस्कृतिक सामग्री तथा प्रतीकहरू राखिएका छन् । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना तथा सांस्कृतिक सामग्रीको समायोजनले निर्माणाधीन उद्यानलाई धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ ।

ज्येष्ठ नागरिक उद्यान नजिकै श्रम संस्कृति उद्यान निर्माण गरिएको छ । सोही क्षेत्रभित्र एसडिएस रक गार्डेन, एसएनएस चौतारी, एसडिबी रोज गार्डेन, झाँक्री दह, श्रमदान चौतारी, आरा धरान तथा मौनता क्षेत्र (ग्रीन बुद्ध) निर्माण भइसकेका छन् । साथै सिङ्गापुर पुलिस, ब्रिटिस आर्मी र भारतीय सेनाका भूपू सैनिकहरूले गोर्खा चौतारी निर्माण गरेका छन् ।

श्रमबाट प्रेरित कलाकृति तथा श्रमको झल्को दर्शाउने संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । अहिले दैनिक रूपमा हजारौँ पर्यटक ज्येष्ठ नागरिक उद्यान तथा आसपासका उद्यान अवलोकन गर्न आउने गरेको स्थानीय व्यवसायी दिनेश मगरले बताए । यस क्षेत्रमा दर्जनौँ आकर्षक उद्यान निर्माण गरिएका छन् । पहिला आवागमन शून्य जस्तै रहेको यस ठाउँमा अहिले दैनिक सयौँ पर्यटक घुम्न आउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *