मेक्सिको सिटी । मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ ।
मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी दिँदै पुनरावलोकनसम्बन्धी औपचारिक वार्ताको पहिलो चरणपछि अमेरिकी पक्षले विभिन्न प्रस्तावहरू अघि सारेको बताए ।
उनका अनुसार प्रस्तावहरूमा वस्तुको उत्पत्ति सम्बन्धी नियम, उत्पादन सामग्रीको अंश, तेस्रो मुलुकसँग सम्बन्धित व्यवस्था, इस्पात, एल्युमिनियम, सवारीसाधन उद्योग तथा आर्थिक सुरक्षाजस्ता विषय समावेश छन् ।
एब्रार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार प्रणालीमा व्यापक परिवर्तन गरिरहेको टिप्पणी गरे । उनका अनुसार अमेरिकाले हाल वस्तु उत्पादन भएको स्थानका आधारमा फरक–फरक भन्सार शुल्क लागू गरिरहेको छ ।
जुन विगतका दशकहरूदेखि प्रचलित अन्तर्राष्ट्रिय व्यापार प्रणालीभन्दा फरक नीति हो । मेक्सिकोको मुख्य उद्देश्य सकेसम्म न्यून भन्सार शुल्क सुनिश्चित गर्नु रहेको र आदर्श अवस्था भनेको पूर्ण स्वतन्त्र व्यापार प्रणालीमा फर्किनु रहेको उनले बताए ।
अर्थ मन्त्रालयले आगामी चरणको वार्तामा औद्योगिक क्षेत्रका हित समेटिएका थप प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको छ ।
मेक्सिको र अमेरिकाबीच दोस्रो चरणको वार्ता जुन १६ र १७ मा वासिङ्टनमा हुने तय भएको छ । उक्त वार्तामा कृषि, निष्पक्ष प्रतिस्पर्धा तथा वस्तुको उत्पत्ति सम्बन्धी नियमहरूमा थप छलफल गरिनेछ ।
तेस्रो चरणको वार्ता जुलाई २० देखि मेक्सिको सिटीमा आयोजना हुनेछ । त्यस क्रममा बाँकी विषयहरू टुंग्याएर वर्षको अन्त्यतिर हुने त्रिपक्षीय संयुक्त समीक्षाको तयारी गरिनेछ ।
