ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपाललेसमेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात होः नेकपा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रधानमन्त्रीबाट नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त धारणाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार पार्टी प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत रहेको भन्दै उक्त राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदल–बदल दुई भिन्न विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको जमिनमा आपसी सहमति वा कानुनी अधिकारविना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई ‘अतिक्रमण’ भनिन्छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।’

उनले देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भहरूको आधारमा निर्धारण भएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमारेखाले गर्दा सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई ’कब्जा’ भनिदैन। यसलाई जग्गाको भोगचलनको अवस्था भनिन्छ । देशको कार्यकारी प्रमुखले संसद्को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *