काठमाडौं । ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ ।
आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । यसैगरी चलचित्र ‘जेरी अन टप‘बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ ।
कर्णाली अडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले र उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ले जितेको छ ।
यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई सम्मानित गरियो । आफ्नो जीवनको पहिलो अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै अभिनेत्री जसिता गुरुङले उक्त अवार्ड सम्पूर्ण दर्शकप्रति समर्पण गरिन् ।
