‘युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी’

मस्को ।  युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाह स्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त शहरका मेयरले शनिबार बताएका छन् ।

युएभी (मानव रहित हवाई ड्रोन) को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उनले जनाएका छन् । उनका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनहरूमा आगलागी भएको थियो भने ड्रोनका टुक्राहरू इन्धन टर्मिनल वरपर पनि खसेका थिए ।

मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राम मार्फत जनाएका छन्। नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले युक्रेनबाट रातारात प्रहार भएका ३४८ वटा ड्रोनहरू रोकेको बताएको छ । सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरे देखि युक्रेनले प्रतिक्रिया स्वरुप रूसी भूभाग–भित्र नियमित रूपमा आक्रमण गर्दै आएको छ ।

किएभले रूसको तेल राजस्व घटाउनका लागि ऊर्जा सुविधाहरूलाई लक्षित गरी बारम्बार लामो दूरीका आक्रमणहरू गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *