जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । मधेस प्रदेशसभाको बैठकमा उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभामा विश्वासको पक्षमा ६२ जना प्रदेशसभाका सदस्यहरूले मत दिएका छन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३६ जना प्रदेशसभाका सदस्यहरूको मत परेको मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभाको बैठकमा घोषणा गरेका थिए । साथै, प्रदेशसभामा १०७ सदस्य छन् । दुई जना सदस्य निलम्बित हुनुहुन्छ भने चार जनाले राजीनामा दिएका छन् । अन्य तीन जना भने सभामा अनुपस्थित रहेका सभामुख यादवले जानकारी दिए ।
प्रदेश सरकारमा रहेका जनमत पार्टीले गत वैशाख २३ गते मुख्यमन्त्री यादवलाई दिएको विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका २२, नेकपा (एमाले) २४, नेपाली कम्युनिष्ट पार्टी १५ र नेपाल सङ्घीय समाजवादी पार्टी नेपालका एक सदस्यले विश्वासको मत दिएका थिए ।
