होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गर्न सुशासन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन तत्काल सुरु गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति हरि ढकालले हस्ताक्षर गरेको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घरोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ ।

निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरुलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पायक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ । समितिले होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवं उचित व्यवस्थापन गरी समितिलाई सात दिनभित्र जानकारी गराउन भनेको छ ।

विपद्सम्बन्धी जोखिम न्यूनीकरणका पूर्वतयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ । विपद्का बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बिमा गर्न पनि समितिले सरोकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *