एमाले सचिवालय बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष गुरुङबीच भनाभन

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षा सुरु भएको छ । पार्टी अध्यक्षको निवासमा जारी बैठकमा शुक्रबार पाँच जना उपाध्यक्षहरूले आ–आफ्ना धारणा र विचारहरू खुलेर राखेका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टीको समग्र समीक्षा गर्नुका साथै निर्वाचनको समीक्षालाई दुई भागमा बाँडेर छलफल अगाडि बढाइएको छ । नेताहरूले लामो समय लिएर स्पष्ट रूपमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए। गौतमले भने, ‘सायद यो बैठक यसरी चलेको पहिलो चोटी होला, जहाँ नेताहरुले लामो समय लिएर आफ्ना खुलेर विचारहरू प्रस्तुत गर्नुभएको छ ।’ बैठकको बीच–बीचमा पार्टी अध्यक्षले विषयवस्तु स्पष्ट पार्न आवश्यक सहजीकरण समेत गरेका थिए ।

आजको बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा भने प्रवेश नभएको प्रमुख गौतमले जानकारी दिए । प्रस्तावित कार्यविभाजनमा केही संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘त्यो एजेन्डामै आउँदा हाम्रा कुराहरू राख्छौं। प्रस्तावित कार्यविभाजनमा कसका के सुझाव छन्, आवश्यक पर्दा त्यसलाई संशोधन पनि गरेर जानुपर्ला ।’

बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष ओलीप्रति आक्रोश पोखेका थिए । अध्यक्ष ओलीले पार्टी पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुने बताएपछि गुरूङले प्रतिवाद गरेका हुन् ।

उपाध्यक्ष गुरुङले ओलीलाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो भन्दै प्रतिवाद गरेका थिए । उनले भने, ’एमाले तपाईंले मात्रै बनाएको पार्टी हो ? एमाले तपाईंको प्राइभेट कम्पनी हो ? यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन ?’ त्यसक्रममा ओली र गुरुङबीच भनाभनसमेत भएको थियो ।

बैठकमा अर्का उपाध्यक्ष विष्णु पौडेलले अहिलेको परिस्थितिको समग्र समीक्षा हुनुपर्ने र पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए । उनेल कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु त्रुटिपूर्ण रहेको भन्दै यो प्रावधानलाई पुनः पार्टी आन्दोलनको अंग बनाउनुपर्ने धारणा राखेका थिए ।

बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्तले पनि पार्टीको कार्यशैली, नीति, दृष्टिकोणमा बृहत् समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका थिए । सचिवालय बैठक शनिबार बिहान ११ः३० बजे ओली निवास गुण्डुमै बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *