सुकुम्बासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन राष्ट्रियसभाका सांसदहरूको माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्बासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरिन्।

सांसद रेणु चन्दले सुकुम्बासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले सुकुम्बासी राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरिन । सांसद पदमबहादुर परियारले राष्ट्रियसभाको सदस्यहरू विगत छ महिनादेखि खाली रहेकामा ध्यानाकर्षण गराए । सांसद रुक्मिणी कोइरालाले कोशी सम्झौताअनुसार भारदहको पुल निर्माण गर्दा लिइएको जग्गाको क्षतिपूर्ति प्राप्त हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विष्णुकुमारी सापकोटाले सहकारीपीडितले न्याय नपाएकामा तर्क गर्दै तत्काल समस्या समाधान गर्न माग गरिन् । सांसद विष्णुबहादुर विश्वकर्माले हुम्लाको चङ्खेलीमा यही जेठ ४ गतेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको, पशु चौपायाको ज्यान गएका उल्लेख गर्दै स्थानीयवासीलाई राहत उपलब्ध गराउन माग गरे ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले सहकारीपीडितलाई फिर्ता दिन लागेको रकम सरकारी ढुकुटीबाट लिन लागेको हो कि सहकारीमा बदमासी गरेकाहरूबाट उठाएर दिन लागेको हो भन्नेबारेमा सदनलाई जानकारी दिन माग गरे । सांसद सावित्री मल्लले दैलेखको जलजलेमा ग्यास रहेकोसम्बन्धी विवरण सरकारलाई उपलब्ध गराइसकेको भए पनि दोस्रो चरणको काम ठप्प भएकामा सरकारको ध्यानाकर्षण गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *