तेहरान । इरानले बिहीबार सशस्त्र विद्रोह र “पृथकतावादी आतंकवादी समूह“ को सदस्यता लिएको र उनीहरुसँग सम्बन्ध बनाएको आरोपमा दुई जनालाई फाँसी दिएको छ ।
गत फेब्रुअरीमा इजरायल र अमेरिकाबीच द्वन्द्व सुरु भए देखि इरानले मृत्युदण्डको सजाय बढाएको छ भने यो वर्षको सुरुमा इरानमा भएको सरकार विरोधी प्रदर्शनमा धेरैलाई दोषी ठहर गरी फाँसी दिइएको थियो ।
बिहीबार मृत्युदण्ड दिइएका दुई जना व्यक्तिहरू पश्चिमी इरानमा सुरक्षा बलहरू विरुद्धको सशस्त्र आक्रमण र हत्याको षड्यन्त्रमा संलग्न रहेको इरानी न्यायपालिकाले जनाएको छ ।
रामिन जालेह र करिम मारुफपुरलाई पृथकतावादी आतङ्कवादी समूहहरूको सदस्यता लिएको, देशको सुरक्षामा बाधा पुर्याउने उद्देश्यले समूह बनाएको, आपराधिक समूहहरूमार्फत गोली हानेर हत्याको प्रयास गरेको आरोपमा फाँसी दिइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख गरिएको छ ।
एम्नेस्टीसहितका मानव अधिकारवादी समूहहरूका अनुसार चीन पछि इरान विश्वको दोस्रो सबै भन्दा बढी मृत्यु–दण्ड दिने देश हो ।
युद्ध सुरु भए देखि, इरानले जासुसी वा सुरक्षा सम्बन्धी अभियोगमा धेरै मानिसहरूलाई मृत्युदण्ड दिएको छ । चालु महिनाको सुरुमा, इरानले इजरायली गुप्तचरलाई जानकारी बेचेको आरोपमा एक व्यक्तिलाई फाँसी दिएको थियो भने यस अघि सोही आरोपमा एक जना एयरोस्पेस इन्जिनियरिङ विद्यार्थीलाई मृत्युदण्ड दिएको थियो ।
