काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साह सदनप्रति उत्तरदायी नभएको भन्दै आपत्ति प्रकट गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति प्रकट गरेका हुन् ।
उनले प्रधानमन्त्री संसदको अंग हो कि कहीँ टापुको सम्राट भन्दै कटाक्ष गरे । उनले भने,’प्रधानमन्त्रीजी कहीँको टापुको सम्राट हो कि यो संसदको अंग हो ? योग गम्भीर विषय हो ।’
उनले मनसुन सुरु हुन लागेको र त्यसको तयारी थाल्न सरकारलाई आग्रह गरे । उनले भने, प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले अत्यन्त गम्भीर रुपमा लिनुपर्ने विषय हो । विपद्को पूर्वतयारीमा गृहमन्त्रालय लागोस्। तर, आफैँ गृहमन्त्री रहनु भएका प्रधानमन्त्री स्वयं यो संसद्को अंग हो कि होइन सभामुखज्यू, मैले चाहिँ थाहा पाएको छैन।’
प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै विपक्षी दलहरुले दिनहुँ सदनमा आवाज उठाए पनि प्रधानमन्त्रीले त्यसको वेवास्ता गर्दै आएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।
