काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहलाई पद त्याग गरी मार्ग प्रशस्त गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले जनप्रतिनिधिका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु नै उचित हुने बताएका हुन् । उनले प्रधानमन्त्री सदनबाट भागिरहेकाले उहाँ संसदको सदस्य हो कि होइन भन्ने प्रश्न गरे ।
उनले प्रतिनिधिसभा नियमावलीको नियम १५(२) अनुसार नेपाल सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो नियमावलीको नियम १५ को २ अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्री ज्यु सदनमा आएर माननीयहरुले उठाउनु भएका प्रश्नहरुको उत्तर दिनुपर्ने हो या होइन यो मेरो प्रश्न ?’ उनले आफूहरुले केही दिनदेखि सीमा समस्या, सुकुम्बासी समस्यालगायतका विषयमा प्रश्न सोध्न खोजेको तर प्रधानमन्त्री भागिरहेको बताए ।
अध्यक्ष साम्पाङले संसदमा उठाइएका प्रश्नप्रति सरकार जिम्मेवार बन्नुपर्ने भन्दै प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।
उनले भने, ‘गृह मन्त्रालय पनि प्रधानमन्त्रीले लिनुभएको छ । सुकुम्बासी लगायतका शान्ति सुरक्षासँग सम्बन्धित विषयहरुमा पनि मेरा प्रश्नहरु थिए । सीमासँग सम्बन्धित, लिपुलेकसँग सम्बन्धित विभिन्न खालका प्रश्नहरु हामीले सोधेका छौं । त्यसैले प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको उत्तर दिनुपर्छ ।’
