सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको तीनतले विद्यालय भवनको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ ।
भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरे । जिल्लाको उत्तर–पश्चिमी सीमान्त गाउँमा कुल रु दुई करोड ८४ लाख ३२ हजार ३०१ लागतमा निर्माण सम्पन्न भएको उक्त १२ कोठे भवनका लागि भारत सरकारले रु दुई करोड २७ लाख ४५ हजार ८४१ अनुदान सहयोग उपलब्ध गराएको छ भने बाँकी रु ५६ लाख ८६ हजार ४६० सुरुङ्गा नगरपालिकाले व्यहोरेको हो ।
उद्घाटन समारोहमा महावाणिज्यदूत मीनाले भवन निर्माण र हाल कार्यान्वयनमा रहेको परियोजना भारत–नेपालबीचको सुदृढ र जीवन्त विकास साझेदारीको उदाहरण भएको बताइन् । उनले मधेस प्रदेशमा भारत सरकारको सहयोगमा शिक्षा, स्वास्थ्य, सडक, पुल, सिँचाइ तथा विद्युतीकरणलगायत क्षेत्रमा भइरहेका विकास निर्माणबारे जानकारी गराएका थिए ।
महावाणिज्यदूत मीनाले भनिन् , “भारत सरकारले हालसम्म मधेस प्रदेशमा मात्रै ८७ वटा परियोजना स्वीकृत गरेको छ, जसमध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने २५ वटा निर्माणाधीन छन् । यी ८७ परियोजनामध्ये ५४ वटा शिक्षा क्षेत्रसँग मात्र सम्बन्धित छन्, जसले शिक्षाप्रतिको हाम्रो प्रतिबद्धता देखाउँछ ।”
सप्तरी जिल्लामा मात्रै नौ वटा परियोजना सञ्चालनमा रहेका र सात वटा सम्पन्न भइसकेका उनले जानकारी दिइन् । यस्तै, भारत सरकारले मधेस प्रदेशमा २३२ वटा एम्बुलेन्स तथा ४० वटा विद्यालय बस उपलब्ध गराएको उल्लेख गर्दै सप्तरी जिल्लामा मात्रै २६ वटा एम्बुलेन्स र ४० वटा विद्यालय बस प्रदान गरिएको त्यस अवसरमा जानकारी दिइयो ।
महावाणिज्यदूत मीनाले ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा नगरप्रमुख चौधरीले विद्यालयको भौतिक पूर्वाधार विकासमा भारत सरकारले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरिन् । उनले नगरभित्रको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिका निरन्तर सक्रिय रहेको बताउँदै विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशालाका लागि थप सहयोग आवश्यक रहेको धारणा राखिन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं सुरुङ्गा नगरपालिका—१ का वडाध्यक्ष छत्रबहादुर राउतले सबै पक्षको सकारात्मक सहकार्य, समन्वय र सक्रियताका कारण विद्यालय भवन निर्माण सम्भव भएको बताइन् । उनले भवन निर्माण निर्धारित समयभन्दा छ महिना अगावै सम्पन्न भएको जानकारी दिइन् ।
विद्यालयका प्रधानाध्यापक दिनेशकुमार यादवका अनुसार हाल विद्यालयमा १२ कक्षासम्म हाल ६२७ जना विद्यार्थी अध्ययनरत छन् । उनले यस वर्षको एसइई परीक्षामा विद्यालयले सुरुङ्गा नगरभित्रका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गरेको जानकारी दिइन् ।
यस विद्यालयमा सप्तरी, सिरहा र उदयपुर गरी तीनवटै जिल्लाका ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । नयाँ र सुरक्षित भवन निर्माणसँगै विद्यार्थीहरूका लागि अझ व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण तयार हुने विश्वास गरिएको छ ।
सोही विद्यालयको परिसरमा विद्यालयकै जग्गामा विगत एक दशकदेखि शिशुवारी क्याम्पससमेत सञ्चालनमा रहेको छ । ग्रामीण भेगका विपन्न तथा जेहेन्दार विद्यार्थी, खासगरी छोरी–बुहारीहरूका लागि यो क्याम्पस उच्च शिक्षा अध्ययन गर्ने भरपर्दो गन्तव्य बन्दै आएको क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाले बताए ।
