पोखरा । पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बसपार्कको जग्गा खाली गराउने भएको छ । महानगरले जग्गा खाली गराउन तीन दिनभित्र विवरण संकलन गर्नेगरी तयारी सुरु गरेको हो ।
महानगरले बुधबार सूचना जारी गरी यसअघि निस्सा पाएका भूमिहिन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको हो । बसपार्क नबन्दा सो क्षेत्रमा साढे चार सयभन्दा बढी घरटहरा बनेका छन् ।
महानगरले गत वैशाख ४ गते अतिक्रमित संरचना हटाउन ३५ दिनु सूचना जारी गरेको थियो, जसको म्याद जेठ ८ गते सकिँदैछ । महानगरले उनीहरुलाई महानगरको निस्सा, नागरिकता वा जन्मदर्ता र नाता प्रमाणित पत्रसहित वडा कार्यालयमा विवरण बुझाउन आग्रह गरेको छ । विवरण सङ्कलन लगत्तै सर्वपक्षीय सहमतिमा जग्गा खाली गराएर बसपार्क निर्माण अघि बढाउने महानगरको योजना छ ।


