ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ । साथै उक्त स्थानबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवल लगायत महंगा ब्राण्डेड रक्सी समेत बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको बिर्खबहादुर तामाङको घरमा अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० वर्षीय मनोज खत्री, रामेछापको खिम्ती गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन् ।
साथै सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएकाहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।






