इरानका नोबेल पुरस्कार विजेता मोहम्मदी उपचारपछि घर फिर्ता

तेहरान । इरानकी नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी उपचारका लागि अस्पतालको लामो बसाइपछि सोमबार घर फर्किएकी छन्।

इरानी महिलाको अधिकारका लागि लामो समयदेखि सङ्घर्षरत मोहम्मदी अस्पतालमा रहेका समय विरामी परेपछि उनलाई स्वास्थ्यको कारण देखाउँदै जमानतमा रिहा गरिएको थियो । रिहाइपछि तत्काल उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

‘डिस्चार्ज’ भएपछि मोहम्मदी तेहरानस्थित आफ्नो घर फर्किएको उनको परिवार र शुभचिन्तकहरूले जानकारी दिएका छन्।
सन् २०२३ को पुरस्कार विजेता मोहम्म्दी मुटुसम्बन्धी रोगबाट पीडित भएकोले उनले घरमा आराम गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । सबैभन्दा पछिल्लो पटक डिसेम्बरमा भएको गिरफ्तारीपछि उनको स्वास्थ्यमा निकै समस्या देखिएको बताइएको छ।

मोहम्मदीको फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मोहम्मदीलाई १८ दिनसम्म जेलमा र तेहरानस्थित एक अस्पतालमा अर्को १८ दिन उपचारपछि आइतबार घर ल्याइएको छ ।”

अस्पतालमा गरिएको परीक्षणले मुटु र रक्तचापको समस्या ‘लामो, गम्भीर मनोवैज्ञानिक दबाब, दीर्घकालीन चिन्ता र तीव्र वातावरणीय तनाव’ सँग सम्बन्धित रहेको पुष्टि गरेको छ।

उनको स्वास्थ्यलाभका लागि कारागारको पर्खालबाहिर कडा चिकित्सा निगरानीको माग गरिएको छोरी कियाना रहमानीले जानकारी गराए।

रहमानीले भनिन्, “उहाँलाई हिरासतमा फर्काउनु मृत्युदण्डको सजाय दिनु बराबर हो।” “हामीले यो सुनिश्चित गर्नुपर्दछ कि उहाँ अब स्वतन्त्र रहनुहोस् र उहाँमाथि लागेका सबै आधारहीन आरोपहरू स्थायी रूपमा हटाइयोस् र उत्पीडन अन्त्य होस्,” छोरी रहमानीले भनिन् ।

रहमानी उनका जुम्ल्याहा भाइ अलीसँग पेरिसमा बस्छन् । उनीहरूले एक दशकभन्दा बढी समयदेखि आफ्नी आमालाई देखेका छैनन् ।मोहम्मदीलाई मे १० मा जमानतमा रिहा गरिएको थियो र उहाँलाई उपचारका लागि तेहरान सारिएको थियो ।

उनका समर्थकहरूले उनलाई दुई पटकसम्म हृदयघात भएको दावी गर्दै मोहम्मदीको जेलमा नै मृत्यु हुने खतरा बढेको भन्दै आवाज उठाएपछि उनलाई स्वास्थ्यको कारण देखाउँदै रिहा गरिएको थियो ।

उनको कानुनी टोलीले मोहम्मदीलाई सुरक्षासँग सम्बन्धित विभिन्न आरोपहरूमा सञ्चित सजाय भोग्न अझै १८ वर्ष बाँकी रहेको बताएको छ।

“इरान र संयुक्त राज्य अमेरिका र इजरायलबिचको युद्धका कारण उहाँको स्वास्थ्य अवस्था प्रभावित भएको छ,” मोहम्मदीका समर्थक र कानुनी टोलीले दावी गरेको छ, “उनलाई राखिएको जेल नजिकै कम्तिमा तीन हवाई आक्रमणहरू भएका थिए ।”
आफ्नो सक्रियताका लागि विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएकी ५४ वर्षीया मोहम्मदीलाई हालै डिसेम्बरमा एक वकिलको अन्त्येष्टिमा इस्लामिक गणतन्त्रको निन्दा गरेपछि पक्राउ गरिएको थियो।

उनले इरानी कुर्द महिला महसा अमिनीको हिरासतमा भएको मृत्युपछि सन् २०२२ र सन् २०२३ को विरोध प्रदर्शनलाई कडा समर्थन गर्नुभएको थियो तर यस वर्ष जनवरीमा सुरु भएको प्रमुख प्रदर्शनअघि उनलाई पक्राउ गरिएको थियो।

अधिकारवादी समूहहरूले जनवरीमा भएको विरोध प्रदर्शन र इस्लामिक गणतन्त्र विरुद्ध अमेरिका–इजरायल युद्धमा दशौँ हजार मानिसहरू पक्राउ परेका छन् भने अधिकारवादी समूहहरूले राजनीतिक बन्दीको रूपमा हेरेका दोषीहरूलाई मृत्युदण्ड दिने क्रम इरानले बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *