काठमाडौं । स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको चौथो खेलमा स्कटल्याण्डले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि १ सय ९५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ३९.१ ओभरमा अलआउट हुँदै १ सय ९४ रन जोडेको हो । स्कटल्याण्डको लागि ब्राण्डन म्याकमुलेन र मिकेल इंग्लिसले अर्धसतक बनाए । म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्काको मद्दतमा ७३ रन बनाउँदा मिकेल इंग्लिसले ५१ रन बनाए । उनले ७२ बलमा ४ चौका र एक छक्का प्रहार गरे । यस्तै जोर्ज मुन्सेले २१, मार्क वाटले २० र कप्तान रिचे बेरिङटनले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
स्कटल्याण्डलाई कम योगफलमा समेट्न ललित राजवंशीले ८ ओभरमा ३२ रन दिएर चार विकेट लिए । यस्तै सन्दीप लामिछानेले १० ओभरमा ४७ रन दिएर तीन विकेट लिँदा सोमपाल कामी, दीपेन्द्र सिंह एरी र नन्दन यादवले समान एक/एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
