काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेल बिहान ९:३० बजे शुरू हुनेछ ।
आज हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डकवर्थ लुइस पद्दतिको आधारमा दुई रनले पराजित भएको थियो भने अमेरिकापनि पहिलो खेलमा स्कटल्याण्डसँग डकवर्थ लुइस पद्दतिको आधारमा दुई रनले स्तब्ध बनेको थियो ।
उत्कृष्ट लयमा रहेको अमेरिका २५ खेलबाट ३६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेलमा जित निकालेको खण्डमा अमेरिका शीर्ष स्थानमा उक्लिनेछ । यता नेपालभने २५ खेलबाट १८ अंक जोड्दै सातौँ स्थानमा रहेको छ । शीर्ष चारमा रहँदै लिगको अन्त्य गर्न नेपाललाई आजको खेलमा जितको विकल्प छैन ।
नेपाललाई आजको खेलमा बदला लिने अवसरपनि रहेको छ । अमेरिकाविरुद्धको पछिल्लो चार खेलमा सबै चार खेल गुमाएको नेपाल आज जित निकाल्दै उक्त हारको बदला लिन चाहन्छ । टियु मैदानमा भएको पछिल्लो दुई खेलमा भने नेपाल विजयी भएको थियो ।
