काठमाडौं । गोथे–चेन्त्रुम काठमाडौंको नयाँ भवन औपचारिक रूपमा उद्घाटन गरिएको छ। शुक्रबार ललितपुरको एकान्तकुनास्थित नयाँ भवनको नेपालका लागि जर्मनीका रादूत उडो युजेन फेल्जले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत फेल्जले गोथे–चेन्त्रुमको नयाँ भवन केवल भौतिक संरचना मात्र नभई नेपाल र जर्मनीबीचको मित्रता, विश्वास र सांस्कृतिक सहकार्यको नयाँ अध्याय भएको बताए । उनले विगत २५ वर्षदेखि संस्थाले नेपालमा जर्मन भाषा, संस्कृति तथा शैक्षिक आदान–प्रदानलाई सुदृढ बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गरे ।
‘हजारौं नेपाली विद्यार्थी, युवा तथा पेशाकर्मीले यहाँबाट जर्मन भाषा सिकेर नयाँ अवसर प्राप्त गरेका छन् । यसले दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाएको छ,’ उनले भने ।
राजदूत उडाले नयाँ भवन आधुनिक, सुरक्षित र प्रेरणादायी शैक्षिक केन्द्रका रूपमा विकसित भएको उल्लेख गर्दै आगामी दिनमा यो नेपाल र जर्मनीबीच संस्कृति, ज्ञान, विज्ञान तथा मित्रताको पुल बन्ने विश्वास व्यक्त गरे । उनले शिक्षा, प्रविधि, संस्कृति तथा मानव विकासका क्षेत्रमा जर्मनी नेपालसँगको सहकार्यलाई अझ विस्तार गर्न प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा संस्थाका बोर्ड अध्यक्ष ई.रमेश कुमार मास्केले गोथे–चेन्त्रुमले आधिकारिक मान्यता प्राप्त गरेको २५औं वर्षगाँठको अवसरमा नयाँ भवन उद्घाटन हुनु विशेष उपलब्धि भएको बताए । उनले विगत साढे ६ वर्षदेखि संस्थालाई आधुनिक र सुदृढ शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिएको जानकारी दिए ।
उनका अनुसार थापाथलीबाट एकान्तकुनामा सारिएको नयाँ भवनलाई आधुनिक प्रविधिबाट पुनःसंरचना (रेट्रोफिटिङ) गरी भूकम्प प्रतिरोधी बनाइएको छ। विद्यार्थी र कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखेर भवनलाई उच्चस्तरीय शैक्षिक गतिविधिका लागि तयार गरिएको उनको भनाइ थियो ।
अध्यक्ष मास्केले परियोजना ‘टर्न–की कन्ट्रयाक्ट’ मोडलमा सम्पन्न गरिएको जानकारी दिँदै भवन निर्माण तथा व्यवस्थापनमा योगदान गर्ने पूर्व तथा वर्तमान बोर्ड सदस्य, व्यवस्थापन टोली, प्राविधिक साझेदार, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरे ।
संस्थाले आगामी दिनमा नयाँ भवनलाई ‘नेपालस्थित जर्मन हाउस’ का रूपमा विकास गर्दै नेपाल–जर्मनीबीच भाषा, संस्कृति र ज्ञान आदान–प्रदानको प्रमुख केन्द्र बनाउने लक्ष्य लिएको जनाएको छ।
संस्थाका अनुसार प्रत्येक वर्ष करिब ६ हजार नेपालीलाई जर्मन भाषा सिकाइनेछ। साथै जर्मनीको प्रविधि, विकास अभ्यास र सांस्कृतिक अनुभवबारे नेपालीलाई जानकारी गराउँदै त्यसबाट नेपालको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।




