काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुको वृत्ति विकासका लागि लगानी गर्न सरकारसँग माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद विपिन अचार्यले अर्बौं लगानी गरी गरिएको निर्वाचनबाट सांसदहरु आएका र ती सांसदहरुको वृत्ति विकासमा लगानी गर्दा करोडौँ नागरिकलाई फाइदा पुग्ने भएकाले राज्यले लगानी गर्नुपर्ने बताएका हुन् ।
उनले त्यसको सुरुवात सांसदहरुलाई स्वकीय सचिवबाट सुरु गर्नुपर्ने माग गरे । उनले सांसदहरुलाई नीतिगत, कानुनी र बहुआयामिक पक्षमा धेरै सहयोग चाहिएको बताए । उनले राज्य यसमा लगानी गर्न किन हिचकिचाइरहेको छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘सांसदहरुलाई सक्षम बनाउने विषय नीति तथा कार्यक्रममा समेटियोस् । पहिलो लगानी सांसदहरुलाई स्वकीय सुविधा दिएर सुरु गरियोस् ।’
यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सांसदसहित राजनीतिक पदाधिकारीहरुका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो । कार्की सरकारको निर्णयमा भनिएको थियो, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने ।’
