एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा

बेरुत । युद्धविराम सम्झौताका बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तिमा ५९ जना बालबालिका युद्वको मारमा परेको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल गत १६ र १७ को मध्यरातमा युद्धविराम लागु भएदेखि कम्तिमा २३ जना बच्चाहरूको मृत्यु भएको छ भने ९३ घाइते भएका छन्। गत मार्च –२ देखि २०० जना बालबालिकाको मृत्यु भएको र ८०६ जना घाइते भएको उल्लेख गरिएको छ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र र स्थानीय मिडियाका अनुसार दक्षिणी र मध्य लेबनानमा बुधबार भएको इजरायली आक्रमणमा महिला तथा बालबालिका सहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ।

महिनौको डरबाट त्रसित हुँदै बालबालिकाहरु कक्षाकोठामा फर्कने, साथीहरूसँग खेल्ने क्रममा द्वन्द्वको सिकार हुनु पुगेको मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले बताएका छन्।

हिंसा रोक्ने उद्देश्यले गरिएको युद्व विराम सम्झौताको बाबजुद पनि बालबालिकाले बारम्बार आक्रमण र आघात भोग्नुपरेको उल्लेख गर्दै उनले यसको परिणाम दिर्घकालीन हुनसक्ने बताएका छन्।

यसैबिच युनिसेफले लेबनानमा सात लाख ७० हजार भन्दा बढी बालबालिकाहरूले हिंसा, विस्थापन र हानिको बारम्बार जोखिमका कारण बढ्दो मनोवैज्ञानिक संकटको सामना गरिरहेको चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *