काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षीले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छ् । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । प्रधानमन्त्री उपस्थित नभएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम छलफलका लागि टेबल गरेपनि विपक्षीले छलफल अघि बढ्न दिएनन् ।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि छलफल होस् भन्ने प्रस्ताव टेबुल गरेका थिए । तर, विपक्षी दलले भने नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने अडान राखेका छन् ।
