काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन साहले संसद बैठक छाडेर हिँडेको विषयमा सरकारको जवाफ माग गरेको छ ।
मंगलबारको बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको हो ।
बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बाहिरिनु सामान्य विषय नभएको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरिन् ।
उनले भनिन्, ‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन । सरकारबाट स्पष्ट जवाफ दिइयोस् । पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो । हामी प्रधानमन्त्रीको जवाफ चाहन्छौँ ।’
उनले संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने बताइन् । राष्ट्रपति पौडेलले सोमबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री भने बीचमै उठेर हिँडेको थिए । यो विषयलाई लिएर अहिले प्रधानमन्त्री र सरकारको आलोचना भइरहेको छ ।
