काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो जनादेशलाई बुझ्न नसके मुलुक पुनः द्वन्द्वमा जानसक्ने चेतावनी दिएका छन् । संसदमा राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बाहिरिएको प्रसंग उल्लेख गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘जनताले ठूलो अपेक्षासहित बलियो जनादेश दिएका हुन् भन्ने कुरा रास्वपाका नेताहरुले बुझ्न सकेनन् भने मुलुक पुनः द्वन्द्व र अस्थिरतामा नफस्ला भन्न सकिदैन । तसर्थ रास्वपाका नेताहरु सुरुदेखिनै गम्भीर र सचेत बनुन् ।’
उनले प्रधानमन्त्री बालेनको अनौपचारिक पोशाक र राष्ट्रपतिको सम्बोधन नसकिँदै प्रधानमन्त्रीको संसदवाट बहिर्गमनको घटनाले नयाँ भनिनेहरुको संसदीय आचरण र भूमिकाका सन्दर्भमा गम्भीर प्रश्न खडा गरिदिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको आचरण र संसदीय मर्यादाको कुरा । दीर्घकालीन योजनालाई ‘हावादारी’ भन्दै तत्कालका समस्यामै केन्द्रीतहुन अर्तिउपदेश दिनेहरू आज तिनै एजेन्डालाई नीति तथा कार्यक्रम मार्फत जस्ताको तस्तै दोहोर्याउन बाध्य भएछन् । ‘पुरानाले गरेनन्, हामी गर्छौँ’ भन्नेहरूको नीति तथा कार्यक्रम सुन्दा विगतभन्दा खासै फरक दृष्टिकोण वा नयाँ सोच देखिएन। नीति तथा कार्यक्रमले आफ्नै १०० बुँदे वाचापत्रको स्प्रिट समेत समेट्न सकेको देखिएन । सुरुकै नीति कार्यक्रमको यस्तो अवस्था छ भने बजेट आउँदासम्म के होला ? त्यसमाथि सरकारको पहिलो नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिवाट सम्वोधन हुने समारोहमा प्रधानमन्त्री बालेनको अनौपचारिक पोशाक र राष्ट्रपतिको सम्बोधन नसकिदै प्रधानमन्त्रीको संसदवाट वहिर्गमनको घटनाले नयाँ भनिनेहरुको संसदीय आचरण र भूमिकाका सन्दर्भमा गम्भीर प्रश्न खडा गरिदिएको छ ।’
